रामकुमार श्रेष्ठ
असोजको महिना, त्यसैले बिहान बेलुकी जाडो हुनु अस्वाभाबिक होइन । भालेको डाँकसंगैको हो कि होइनको झिसमिसे उज्यालोसंग कस्ले कस्लाई उछिन्ने भन्ने प्रतिस्पर्धामा उत्रिसकेका छन गाउँलेहरु बिशेषत: महिलाहरु रित्ता गाग्रीहरु बोक्दै र अंगारले दाँत माझ्दै धारातिर प्रस्थान गरेर । पुरुषहरु भने आ-आफ्ना आवश्यकतानुसार कोदालो, कोदाली, खुर्पि-ठ्याक बोकेर खेत, बारी, जंगलतिर लाग्न थाली सकेका छन । बाध्यात्मक र परंपरागत समयसंग जुध्ने भनौं वा खेल्ने तौर तरीका हो यो उनीहरुको । बाटोदेखि पंधेरासम्म पधेर्नी गफ बाक्लिने क्रम जारी छ भने यदाकदा खेत, बारी र जंगल जानेहरु वल्लाघर पल्लाघरकाहरु तयार भए नभएको जानकारी लिन सबेरै ठूल्-ठूला स्वरले बोलाँउदै शान्त बातावरण खलबल्याउने परंपरा पनि कहिलेकाँही सक्रिय भईरहेको छ ।
एउटा अलिक सुनसान दोबाटोमा जाडो, हल्ला केहीको पनि पर्बाह नभएको झैं गरी एकजना अधबैंसे मानिस सुतिरहेको देखिन्छ । यस्तैमा एउटा जड्याहा खुट्टा लरखराउँदै उस्को नजिक आइपुग्छ र बाटोमा त्यसरी सुतिरहेको मानिसलाई लक्षित गरेर " यो त झन मभन्दा बढी जड्याहा रहेछ । यति सबेरै ढल्नै पर्ने गरी धोकेछ बजियाले" भन्दै हाँस्दै अगाडि बढछ । केही समयपछि सोही बाटो भएर एउटा चोर आइपुग्छ र सुतिरहेको मान्छे देखेर "बिचरा भर्खरको सिकारु चोर परेछ क्यारे । चोर्दा चोर्दै फेला परेर भक्कुमार गोदाइ खाए जस्तो छ" भन्दै त्यत्तिकै छाडेर जान्छ । त्यस्को लगत्तै केही समयपछि एउटा सन्त सोही बाटो हुँदै जाँदा सुतिरहेको उक्त मान्छेलाई देखेर " हे भगवान! संयोगले आज कति ठूलो महात्माको दर्शन पाइयो । यस्तो जाडोमा पनि बाटैमा कति गहिरो ध्यानमा लीन भएको होला" भनेर साष्टांग दण्डवत गरी अगाडि बढ्यो ।
Published link:
http://www.shrijana.com/000/?p=1715

No comments:
Post a Comment